टीकापुर । कैलालीमा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाना दसगजा क्षेत्रको अधिकांश भाग अतिक्रमणको चपेटामा परेको छ । दुई देशका स्थानीयले दसगजा क्षेत्र मिचेर खेतीपाती गर्दै आएका छन् । उनीहरूले सीमाक्षेत्र छुट्याउने सीमास्तम्भ वरिपरि खेतीपाती गरेका छन् । भजनी नगरपालिका–३ कुसुमघाटस्थित ७०७–१०९ नम्बरको जंगे (मुख्य) पिलर र त्यसका सहायक स्तम्भ मिचेर स्थानीयले खेतीपाती गरेको पाइएको छ । त्यहाँ रहेको ७०७र२ (१०९बी) नम्बरको सहायक स्तम्भ वरिपरी भारतीय नागरिकले मसुरो खेती गरेका छन् ।
‘मैले धेरै पर देखेका पिलर अहिले हाम्रो खेतबारीमा गाडिएका छन्,’ उनले भने, ‘अहिले हाम्रो खेतबारीलाई दसगजा भन्न थालिएको छ ।’ उनले आफूहरूले दसगजाका रूपमा छोडेको भूभाग अहिले भारततर्फ परेको जानकारी दिए । जुन भूभागलाई अहिले सडकका रूपमा प्रयोग गर्न थालिएको छ ।
दसगजा मिचेर खेतीपाती गर्नेमा नेपाली भन्दा भारतीय नागरिकको संख्या धेरै छ । स्थानीयका अनुसार उनीहरूले मोहना नदीपारिको भूभागमा एकलौटी रूपमा खेतीपाती गरेको पाइएको छ । कतिपय भारतीय नागरिकले नेपालतर्फको भूभागमा समेत खेतीपाती गर्ने गरेका छन् । ‘दसगजामात्रै हैन हाम्रो अन्य धेरै भूभागमा समेत भारतीयले खनजोत गर्दै आएका छन्,’ स्थानीय जोगी कडायतले भने, ‘भारतीयको दादागिरी सामु हामी निरीह छौं ।’
स्थानीयले २०४० सालमा ७०७–र११० नम्बरको जंगे (मुख्य) पिलर नदीले बगाएपछि सीमा अतिक्रमण सुरु भएको बताए। उनीहरूका अनुसार सो पिलर २०६३ सालमा नेपाली भूभाग अतिक्रमण गरेर पुननिर्माण गरिएको हो, जसका कारण ७०७र१०९ देखि ७०७र११० नम्बरको जंगे (मुख्य) पिलरको बीचमा पर्ने सहायक स्तम्भहरू नेपाली भूमिमा परेका छन् ।
२०६३ मा स्थानीयले एकलौटी रूपमा सीमास्तम्भ पुनर्निर्माण गरेको भन्दै विरोधसमेत गरेका थिए । उनीहरूले तत्कालीन समयमा सहायक स्तम्भ भत्काएका थिए । स्थानीयको विरोधपछि लामो समयसम्म ती सीमास्तम्भ पुनर्निर्माण हुन सकेका थिएनन् । गत वर्ष भने दुई देशको संयुक्त टोलीले ती सहायक स्तम्भ नेपाली भूमिमै पुनर्निर्माण गरेको थिए ।
गत वर्ष समेत स्थानीयले आफ्नो जमिनमा पिलर पुनःनिर्माण नगर्न भन्दै विरोध गरेका थिए । तर दुई देशका अधिकारीहरूले सुरक्षाकर्मी परिचालन गरेर जबरजस्ती पिलर निर्माण गरेको स्थानीय बताउँछन् । ‘हामीले एक महिनासम्म विरोध गर्यौं तर पुनर्निर्माण रोक्न सकेनौं,’ स्थानीय हर्क साउदले भने, ‘हाम्रा खेतमा पिलर गाडेरै छोडे ।’
स्थानीयले सहायक स्तम्भ पुनर्निर्माण गर्दा वर्षौदेखि यथास्थानमा रहेको ७०७–१०९ नम्बरको जंगे (मुख्य) पिलरलाई आधार मान्न सीमा सर्भेमा खटिएका दुई देशका अधिकारीहरूलाई आग्रह गरेका थिए । तर उनीहरूले नदीले बगाएपछि पुनःनिर्माण गरिएको ७०७–११० नम्बर जंगे (मुख्य) पिलरलाई आधारमा माने, जुन नेपाली भूमि अतिक्रमण गरेर पुनर्निर्माण भएको स्थानीय बताउँछन् । नागरिक दैनिकबाट



