दार्चुला । भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा पारेर सार्वजनिक गरेपछि सुरु भएको भारतीय हस्तक्षेपको बिरोधले शुक्रबार दार्चुलामा पनि निरन्तरता पाएको छ। नेपाली कांग्रेसले निकालेको बिरोध जुलुस सदरमुकाम खलंगामा बजार परिक्रममा गरेर नेपाल भारत जोड्ने पुलवारी कोण सभामा परिणत भएको थियो।
बिरोध र्यालीमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति ललितसिंह बोहरासहित जिल्लास्तरीय नेताका साथै महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट र दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीसहित निर्वाचित जनप्रतिनिधि, तरुण दल र नेवि संघ आवद्ध विद्यार्थी नेता तथा महिलाको समेत उपस्थिति रहेको थियो।
कोण सभामा जिल्ला स्तरका नेताले सम्बोधन गरेका थिए। आफूलाई राष्ट्रवादी भन्ने सरकारले नाम, पद नभएको हस्ताक्षर मात्रै रहेको विज्ञप्ति सार्वजनिक गरेर लम्पसारवादको उदाहरण दिएको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले टिप्पणी गरेका थिए।
छाङरु जोड्ने बाटो निर्माण गरिनु पर्ने, तिंकर सडक तत्काल निर्माण गरेर नेपालतिरको आवागमन सहज बनाउनु पर्ने र त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति गराउनु पर्ने माग राख्दै जिल्ला कार्य समिति सभापति ललितसिंह बोहराले खोक्रो राष्ट्रवाद देखाएर नहुने कुटनीतिक पहलबाट समस्या सुल्झाउनु पर्ने बताएका छन्।




