काठमाडौं । राष्ट्रियसभा चुनावको उम्मेदवार चयन गर्न प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । राष्ट्रियसभा चुनावको लागि बुधबार मनोनयन दर्ताको समय रहेकाले दलहरु मंगलबार बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएको छ । प्रदेश ५, ६ र ७ का उम्मेदवार टुंगो लगाइसकेको एमालेले मंगलबार थप प्रदेशका उम्मेदवार चयन गर्नेछ ।
यसैगरी नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित निवासमा शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।
यसैगरी नेकपा माओवादीका शीर्ष तीन नेताहरु पनि आन्तरिक छलफलमा छन् । छलफलका लागि नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेका छन् । माओवादी केन्द्रले उम्मेदवार चयन गर्ने जिम्मा यीनै तीन नेताहरुलाई दिएको छ । राष्ट्रियसभा सदस्यका आकांक्षी धेरै भएपछि माओवादीले उम्मेदवार छान्न सकिरहेको छैन । शीर्ष नेतासहित प्रदेश इञ्चार्जहरुको बैठक दुई दिनसम्म चलेपनि सहमति नभएपछि टुंगो लगाउने जिम्मा शीर्ष तीन नेतालाई दिने निर्णय भएको थियो ।
यसैगरी, संघीय समाजवादी फोरम र राजपाका शीर्ष नेताहरु पनि राष्ट्रिय सभा चुनावका उम्मेदवार चयन गर्ने तथा आपसमा तालमेल गर्ने विषयमा छलफलका लागि व्यस्त छन् ।
सरकारले माघ २४ गते राष्ट्रियसभा चुनावको मिति निर्धारण गरेको छ ।
अनलाइनखबरबाट
प्रतिकृया दिनुहॊस