लुम्बिनी । भैरहवामा आयोजित लुम्बिनी पर्यटन प्रवर्धन औद्योगिक व्यापार तथा कृषि महोत्सवमा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ ।
उद्योग व्यापार सङ्गठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनका कक्षलाई विशेष छुटको व्यवस्था गरिएको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए । चार सय स्टल दर्ता भएको महोत्सवमा करिब ४० प्रतिशत स्थानीय उत्पादनका रहेको उनले जानकारी दिए । विशेष गरी स्थानीय उत्पादनअन्तर्गत कृषिका ६०, घरेलु साना उद्योगका १००, महिला हस्तकलाअन्तर्गत ६०, स्थानीय गार्मेन्टका ५० स्टल छन् ।
विगतका महोत्सवमा उत्साहजनक रुपमा सहभागि नहुने गरेता पनि यस वर्ष आयोजकको मेहनत र उनीहरुलाई गरिएको छुटका कारण उद्योगी व्यवसायी उत्साहित भएको मेला मूल आयोजक समिति संयोजक नारायणप्रसाद भण्डारीले बताए । स्थानीय उत्पादनका पर्यटन प्रवर्धनलाई प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा मायादेवी मन्दिर आकृतिको पर्यटकीय क्षेत्रमा राखिएका १५ वटा पर्यटकीय क्षेत्रले दर्शकको ध्यान केन्द्रित गरेको भण्डारीले बताए ।
महोत्सवमा अर्घाखाँचीको सुपादेउराली मन्दिर, गुल्मीको विचित्र गुफा, चितवनको सौराहा, मुगुको राराताल, मुस्ताङ हिमाल, प्युठानको स्वर्गद्वारी, सगरमाथा हिमाल, देवदहको पाकरी वृक्ष, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण आधारशिविर, रेसुङ्गा, मर्दी हिमाल, पाल्पाको रानीमहललगायतका पर्यटकीय गन्तव्यको तस्वीरलाई उनीहरुको परिचयसहित सजाएर राखिएको छ । यही मंसिर ३ गतेदेखि शुरु भएको महोत्सवमा रु २५ करोडको आर्थिक कारोवार हुने तथा तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।




