रौतहट। रौतहटको सन्तपुरमा निर्माणधिन मुसहर बस्तीका लागि सदरमुकाम गौर स्थित सूर्योदय बहुमुखी सहकारी संस्थाले धनराशी सहयोग गरेको छ । संस्थाले मुसहर बस्ती निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ २२ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो । मुसहर बस्ती निमार्णका लागि सदरमुकाम गौरबाट भएको यो सवैभन्दा ठुलो आर्थिक रकम समेत हो ।
कुनै पनि राजनीतिक दलमा आवद्ध नभई सहकारी संचालन गरेका युवाहरुको समूहले आ आफ्नो तलबको रकमबाट संकलन गरी सो राशी सहयोग गरेको संस्थाका संचालक अविनाश केशरीले जनाएका छन् ।
संस्थामा कार्यरत कर्मचारीहरुको समुह शनिवार निर्माणधिण बस्ती मै पुगेर अभियानका अभियन्ताहरुको रोहबरमा सहयोग रकम फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाइ हस्तान्तरण गरेका छन् ।
सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको संस्थाका अर्का सदस्य मिथलेश साह बताए ।
हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल “धुर्मुस“ र कुन्जना धिमिरे “सुन्तली“ले सम्पूर्ण सहयोगी मनहरुमा सहयोग रकम जुटाएर सहयोग गरेमा र महाअभियानमा साथ दिएकोमा धन्यवाद आभार प्रकट गरे ।
साँचिकै मन देखिनै गर्व गर्न लायक राष्ट्रप्रेमिको भावना समेतिएको यस अभियान प्रती खुलेरै प्रसंशा गर्दै यस सहयोग र साथको जति नै बर्णन गर्दा पनि कम हुने भन्दै प्रवाशमा रहनु भएका सम्पूर्ण नेपालिहरुको साथ र मायाले नै सबै बस्ती निर्माण कार्य सफल भएको पनि कुरा उल्लेख गरे ।




