नवलपरासीमा विश्वमै अग्लो दामोदर कृष्ण भगवानको मुर्ति

नवलपरासी । विभिन्न धार्मिक पक्षहरूको विशेषता रहेको तथा परासर ऋषिको तपस्थली नवलपरासी जिल्लामा अर्को एउटा ऐतिहासिक धार्मिक कार्य भएको छ ।

यो जिल्लाको सुनवलमा विश्वमै अग्लो दामोदर कृष्ण भगवानको मुर्ति खडा गरिएको छ । सोही दामोदर कृष्ण भगवानको मुर्तिको निर्माण भएपछि सो क्षेत्रलाई दामोदरधामले सम्बोधन गर्न थालिएको छ ।

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकी विशिष्ट आजीवन सदस्यसमेत रहेकी समाजसेवी, धार्मिक अभियन्ता देवि घिमिरे (देवि दिदी)को अगुवाईमा सो कार्य भएको हो ।

वि.सं. २०७१ मंसीर २३ देखि पौष ०३ गतेसम्म सुनवलमा सम्पन्न भएको श्रीमद्भागवत् विश्व जागरण धार्मिक संस्कार महोत्सव महायज्ञमा महायज्ञका प्रमुख वाचक ईश्वरकृष्ण महाराजको उद्घोष, गोरखपुर गोरखनाथ मठका मठाधीश योगी आदित्यनाथको आशिर्वचन र महायज्ञ सञ्चालक समितिको सत्सङ्कल्पको बलले देवि घिमिरेको टिमलाई सो मुर्ति निर्माण गर्ने आँट एवं साहास मिलेको थियो ।

शुरुवातमा सो कार्यलाई मान्छेहरूले हाँसोको विषय पनि बनाए तर, दृढ सङ्कल्प भए पछि सत्कर्म पूरा हुँदो रैछ दामोदरधामकी प्रमुख संरक्षकसमेत रहेकी देवि घिमिरे बताउँछिन् ।

कुनै कुनै बेलामा मुर्ति बनाउने मिस्त्रीलाई ज्याला दिन र मुर्तिको लागि आएको सामाग्र वापतको पसलको ऋण तिर्न पैसा नभएर आफूले लगाएको गहनासमेत बेच्नपरेको सुनाउँदै गहनाले आफूमात्रै सिङ्गारिन सकिन्थयो तर त्यो बेचेर गरेको कामले युगयुगसम्म यो क्षेत्रनै सिङ्गारिने भएकोले आफू र आफ्नो टिमलाई आत्मसन्तुष्टि भएको उनी सुनाउँछिन् ।

शुरुमा कठिनाई परे पनि मुर्तिले आकार लिन थालेपछि क्रमशः साथ सहयोग जुट्दै गई मुर्ति निर्माणको कार्य सम्पन्न भएको छ । हाल आएर सुनवल नगरपालिकाले चासो राखी बजेट छुट्याएर रङ्गरोगनको कार्य गराएको छ ।

अब उपरान्त देवि घिमिरेलाई प्रमुख संरक्षक एवं संस्थापकको सम्मान दिएर थप व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने प्रतिबद्धता नगर प्रमुख भिमबहादुर थापा (भरत)ले जनाउनु भएको छ ।

यस प्रकारको कार्य सम्पन्न गर्न शुरुका दिनदेखि नै साथ सहयोग दिने दिलकुमारी बुढामगर, धनमाया क्षेत्री, सरस्वती रेग्मी, कमला लम्साल, रामु कवर, बुद्धिसागर भुसाल, रामचन्द्र घिमिरे, निर्माण समितिका संयोजक उमाकान्त ढकालप्रति आफू विशेष आभारी रहेको देवि दिदी बताउँछिन् ।

यसै गरी पछिका दिनमा साथ सहयोग गर्ने सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा तथा नगरपालिका परिवार, यसै वर्ष दिवंगत हुनुभएका आफ्ना श्रीमान् ठाकुरप्रसाद घिमिरे एव विभिन्न राजनीतिक दलका स्थानीय पदाधिकारी तथा कार्यकर्ता, व्यापारी, उद्योगी, धार्मिक व्यक्तित्त्व, समाजसेवी रं प्रत्यक्ष अप्रत्यक्ष साथसहयोग दिने सबै प्रति देवि दिदीले न्यूज टिमसँग बेलिबिस्तारको क्रममा आभार व्यक्त गर्नु भयो ।

पूर्वपश्चिम महेन्द्र राजमार्गकै आडमा पर्ने स्थानमा बनेको सो मुर्तिले सो राजमार्गमा हिड्ने यात्रुहरूको मनलाई आकर्षित गर्न थालेको छ । यसै गरी मुर्ति एवं सो धामले देशका र भारतलगायत अन्य मुलुकका तीर्थयात्रीहरूको ध्यान समेत तान्न सफल भएको छ ।

यस प्रकारको कार्यले अब उपरान्त सही तरिकाले सदुपयोग गर्नसकेको खण्डमा सुनवलको स्थानीय सरकारलाई धार्मिक पर्यटनको क्षेत्रमा कदम उठाउन ठूलो मद्दत पुग्ने जानकारहरू बताउँछन् ।

हरेक मठमन्दिरका छुट्टाछुट्टै विशेषता हुन्छन् । ज्योतिषाचार्य दीपक सुवेदीका अनुसार निर्दोष व्यक्ति विभिन्न परिबन्दमा परेर जेलनेल तथा बन्धनमा परेको छ भने जेल अथवा बन्धनमै रहेर पनि अन्तःहृदयदेखि पुकारा गरी दामोदर कृष्ण भगवानको भक्ति, उपाशना गर्ने र बन्धन मुक्ति भएपछि दर्शन एवं अनुष्ठान गर्ने भाकल गर्छ भने उसलाई बन्धन मुक्ति मिल्ने हुन्छ ।

नागरिक मात्रै नभएर प्रकारान्तरले विभिन्न देशीविदेशी चक्रव्यूहको बन्धनमा फसिरहेको देश र नागरिकको मुक्तिको लागि समेत भगवान दामोदरकृष्णको कृपा होस् ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस