काठमाडौँ । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती सोमबार विविध कार्यक्रम गरी मनाईँदै छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा भएको थियो ।
विसं २००५ चैत २२ गते पाँचथरको सिलौटीमा उनले देहत्याग गरेका थिए । किराँत समुदायमा मांसाहारी, मदिरापान र सुर्तीसेवन बन्द गराउन दिएको सन्देशका कारण उनलाई महान समाज सुधारक मानिएको छ । उनको योगदानको सम्मानमा नेपाल सरकारले २०६६ मङ्सिर १६ गते विभूति घोषणा गरेको हो ।
पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।
किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय विभूति तथा किराँतधर्मका महागुरु फाल्गुनन्दको १३५ औंँ जन्मजयन्तीका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ती ठाउँमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोकेका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताका लागि दिएको शिक्षा आज पनि मननीय भएको जनाउँदै प्रधानमन्त्रीले छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको बताए । जन्मजयन्तीको अवसरमा इलामआसपासका क्षेत्रमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।
प्रतिकृया दिनुहॊस