हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

सोलुखुम्बु । शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ ।६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् ।

आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट एक करोड ४० लाख ३६ हजार ३०० रोयल्टी सङ्कलन भएको छ ।

सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै दुई करोड ७० लाख ८५ हजार ६०० रोयल्टी सङ्कलन भएको निरौलाको भनाइ छ । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख आठ हजार पाँच रोयल्टी सङ्कलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् ।

यता थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३१२ सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।

वसन्त ऋतुमा आरोहीको भीड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति पाएका थिए ।

उनीहरुबाट सरकारले ६३ लाख ११ हजार ८०० रोयल्टी सङ्कलन गरेको छ । लामो समयपछि शरद ऋतुमा आरोहणका लागि गएको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ ।

सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन् । शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकूल हुने भए पनि उच्च गतिको हावाका कारण जोखिम हुने आरोहीको भनाइ छ ।

सगरमाथा आधार शिविरदेखि क्याम्प १ सम्मको अति जोखिमयुक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ ।

त्यसैले यो समयमा आरोही समूहले नै बाटो  निर्माण गर्दै जानुपर्ने हुन्छ । वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प १ सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ ।

नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताब सिं तामाङले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस