काठमाडौं । इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ। अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल-बग्दादी मारिएका थिए।
उत्तरी सिरियाको अजाज नगर नजिकैबाट अल-बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्। उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ।
सन्देह
टर्कीका एक अधिकारीले अवादलाई ‘सूचनाको खानी’ भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन्।
पश्चिमा विज्ञहरूले टर्कीको दाबीबारे सन्देह व्यक्त गरेका छन्। तर अवादसँग अल-बग्दादीको जीवन र आईएसको संरचनाबारे आन्तरिक जानकारी हुन सक्ने उनीहरूको भनाइ छ।
टर्कीका सञ्चार निर्देशक फहरेतिन आल्तुनले अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको ट्वीटमार्फत् पुष्टि गरेका छन्।
वीवीसी न्यूजबाट




