मेलम्ची खानेपानी आयोजना : बाँकी काम सोमबारबाट शुरु हुँदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी शुरु हुने भएको छ । मेलम्ची विकास समितिका अनुसार आगामी सोमबारबाट बाँकी काम सुरु हुनेछ । आयोजनाको बाँकी कामको ठेक्का पाएको चिनियाँ कम्पनी सिनोहाइड्रोले अहिले फिल्डमा आवश्यक तयारी गरिरहेको छ ।

कम्पनीले काम शुरु गर्न साइट सफा गर्ने, स्पेस बनाउनेलगायतका काम गरिरहेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । उनले काम शुरु गर्न ठेकेदार कम्पनीले आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको बताए । सुरुङ फिनिसिङ र हेडबक्स निर्माण गरी दुई भागमा आयोजनालाई विभाजित गरे ठेक्का लगाइएको छ । दुवै ठेक्का सिनोहाइड्रोले नै लिएको छ । एउटै कम्पनीले दुई ठेक्का पाएका कारण सुरुङ फिनिसिङ र हेडबक्स निर्माणको काम एकैपटक शुरु हुनेछ ।

सिनोहाइड्रोसँग सुरुङ फिनिसिङको ठेक्का सम्झौता गत १२ असोजमा भएको थियो । सो ठेक्का कम्पनीले ८५ करोड एक लाख ९४ हजार ४५८ रुपैयाँमा सकारेको थियो । सम्झौताअनुसार सुरुङ फिनिसिङको काम १२ महिनामा सक्नुपर्नेछ । यस्तै, असोज अन्तिम साता सिनोहाइड्रोसँगै हेडबक्स निर्माणको समेत ठेक्का सम्झौता भएको थियो । हेडबक्स निर्माणको ठेक्का कम्पनीले एक अर्ब दुई करोड लिएको थियो । हेडबक्स निर्माणको काम कम्पनी १५ महिनामा सक्नुपर्नेछ ।

यस्तै, समयमै काम सम्पन्न नगरे क्षतिपूर्ति तिर्नुपर्ने छ । सिनोहाइड्रोले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायतका काम गर्नुपर्नेछ । त्यसका लागि सिनोहाइड्रोले भेन्टिलेसन बनाउने, पाइप आपूर्ति र जडानको काम गरिहेका ठेकदारसँग समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री