सौराहामा रात्रिकालीन जिप सफारीको तयारी

भरतपुर । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जिप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जिप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

रात्रिकालीन जिप सफारीका लागि रुट निर्धारण भइसकेको उनले बताए । “सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौँ”, उनले भने, “पहिलो चरणको स्थलगत निरीक्षण भइसकेको छ ।”

उनले छिट्टै सांसद, जनप्रतिनिधि, निकुञ्ज, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलको आयोजना गरेर जीप सफारीको अन्तिम निर्णय लिइने बताए । रात्रिकालीन जिप सफारी नेपालमै पहिलो भएको उनको दाबी छ । सफारी हुने क्षेत्रको एकापट्टि मध्यवर्ती सामुदायिक वन र अर्कापट्टि निकुञ्ज क्षेत्र राप्ती नदी पर्छ ।

राप्ती नदीको किनारमा करीब चार घण्टाको जिप सफारी गर्न सकिने भट्टराईले बताए । सौराहादेखि लोथरसम्म करीब ३० किलोमिटरको दूरी पर्छ । “पर्यटन भ्रमण वर्ष २०२० मा चितवन आउने पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले यो प्याकेज ल्याउन लागेका हौँ”, उनले भने, “यसले आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री