काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताएका छन् ।
राष्ट्रपति भण्डारीले आफ्नो मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आउनुभएका चिनियाँ समकक्षी सी जिपिङलाई शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा स्वागतपछि आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा आफ्नो चीनको राजकीय भ्रमणका क्रममा भएको दोस्रो ‘क्षेत्र तथा मार्ग मञ्च’ (बीआरआई) को सफलतापूर्वक समापन भएकामा प्रशंसा गर्दै मञ्चको निर्णयमा हिमालपार अन्तरसीमा बहुआयामिक सम्पर्क सञ्जालको उल्लेख भएको र त्यसबाट रेलमार्ग, सडक, सुरुङजस्ता पूर्वाधार विकास हुने विश्वास व्यक्त गरे।
जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी तथा चिनियाँ जनतालाई बधाई व्यक्त गर्दै उनले चीनको युगान्तकारी परिवर्तन, प्रगतिशील सुधार र प्रभावकारी सुशासन हासिल गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले नेपालमा चुनावपछि स्थायी सरकारको स्थापना भएको र वर्तमान सरकारले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न प्रयास गरिरहेको जानकारी दिँदै नेपाललाई सन् २०३० भित्रै अतिकम विकसित मुलुकबाट मुक्त गरी मध्यम आय भएको अर्थतन्त्रयुक्त मुलुक बनाउने सरकारको प्रयास भइरहेको उल्लेख गरे ।
राष्ट्रपति भण्डारीले भूकम्पबाट प्रभावित नेपालमा चिनियाँ सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ पर्यटकको आगमनका साथै नेपालको जनशक्ति विकासमा चिनियाँ सहयोगको अपेक्षा व्यक्त गरे । उनले नेपालमा चिनियाँ लगानी सहज र सुरक्षित बनाउन नेपाल सरकार सदा तत्पर रहेको बताए ।
नेपाललाई ३.५ अर्ब आरएमबी दिइने
भेटवार्ताका अवसरमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी(झण्डै ५६ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराइने जानकारी दिए।
नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताए ।
उहाँले गरिबी निवारणका क्षेत्रमा चिनियाँ अनुभव सिक्न सकिने बताउँदै चीनमा यस्तो कार्य उद्देश्यअनुरुप भएको र ८० करोड मानिसलाई गरीबीबाट मुक्त गरिएको तथा सन् २०२० मा गरीबी पूर्ण उन्मूलन गर्ने लक्ष्य लिइएको जानकारी दिए । उनले हिमालपार रेलमार्ग निर्माण गर्न कठिन भए पनि यसको निर्माणका लागि काम गरिने स्पष्ट पारे । उनले चीनले रेल निर्माणका क्षेत्रमा विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रुपमा काम गर्न सकिने बताए ।
उनले नेपालले जलवायु परिवर्तनबाट भोगेको समस्याबारे चीनले जानकारी पाएको र समस्या समाधान गर्न संयुक्त रुपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरुपमा पुनःस्थापना गरी उनीहरुको जीवनस्तर उकास्न सकिनाका साथै सगरमाथाको उचाइ मापन संयुक्त रुपमा गर्न सकिने उल्लेख गरे।
उहाँले नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने जानकारी पनि दिए।
राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताउनुभयो । उहाँले नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दैै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताए । उनले संरक्षणवादको विपक्षमा मिलेर काम गर्न सकिने बताउँदै एशियाली आधारभूत संरचना लगानी बैँकबाट सहयोग लिन सकिने धारणा व्यक्त गरे ।
त्यस अवसरमा चिनियाँ राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे। त्यस अवसरमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, खानेपानी तथा सरसफाइ मन्त्री तथा नेपाल र चीन सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
चिनियाँ राष्ट्रपति सी दुईदिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न काठमाण्डौ आए ।



