महराको आफन्तसँग सोधपुछ गर्दै प्रहरी

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महाराको आफन्त र नजिकका नातेदारसँग प्रहरीले सोधपुछ गर्न थालेको छ ।  प्रहरी हिरासतमा रहेका महरासँग लिखित बयान लिनुअघि प्रहरीले उनका आफन्तसँग सोधपुछ सुरु गरेको हो ।

‘उहाँका आफन्त र छोराहरूसँग पनि घटना लगायतका विषयमा कुराकानी हुने छ,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले सबैसँग छलफल र कुराकानी गरेपछि उहाँसँग लिखित बयान लिनेछौं ।’ संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले १९ गते पक्राउ गरेको हो । प्रहरीले अदालतको अनुमति लिएर महरालाई पक्राउ गरेको हो । त्यसयता महरा प्रहरी हिरासतमा नै छन् ।

२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा म्याद थपका लागि उपस्थित गराउनेछ । त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद प्राप्त गर्दै मुद्दाको प्रक्रिया अघि बढाउने छ । प्रहरीले म्याद थप गर्दै अनुसन्धान समाप्त गरेमा मुद्दा दायर गर्ने छ । बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो ।

उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन् । शाहीको उजुरी पछि प्रहरीले आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्राउ गरेको हो । असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए ।

त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन् । दसैं बिदा परेकोले हाल अदालत बन्द छ । जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस