थानकोट–नागढुङ्गा सुरुङमार्ग : असोज १ गते ठेक्का सम्झौता हुने

काठमाडौँँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि असोज १ गते ठेक्का सम्झौता हुनेभएको छ । सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या समाधान भएसँगै ठेक्का सम्झौता हुने तय भएको हो ।

थानकोट–नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सुरुङमार्गसँग सम्बन्धित सबै छलफल टुङ्गिसकेको जानकारी दिँदै निर्माणका लागि जापानी कम्पनी हाज्मा–आन्दो (जेभी) सँग सम्झौता हुने बताए । बैङ्क ग्यारेन्टीसहितको प्रक्रिया सकेर जापानी कम्पनी आगामी साता नेपाल आउन लागेको छ ।

सम्झौतामा नेपालका तर्फबाट सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापा र निर्माण कम्पनीका प्रमुखले हस्ताक्षर गर्ने तय भएको जानकारी आयोजना प्रमुख खरेलले दिए । धादिङमा मुआब्जाको समस्या समाधान नहुँदा सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ भएको थियो ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको बताए । “निर्माण सम्झौतापछि कम्पनीले आफ्ना क्याम्प राख्छन् र ‘फिनिसिङ’को काम गर्छन् । तिहारपछि निर्माण कम्पनी फिल्डमा गएर काम सुरु गर्नेछन्”, उनले भने, “तर सुरुङमार्ग निर्माणको मुख्य काम सुरु हुन अझै छ महिना लाग्ने छ ।”

विस्फोटक पदार्थ नहुँदा सुरुङमार्गको निर्माण कार्य सुरु गर्न केही समय ढिलो हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले स्पष्ट पारे । काठमाडौँ जिल्लामा मुआब्जा वितरण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको महाशाखाका प्रमुख थापाले जानकारी दिए । विभिन्न कारणले काठमाडौँ बाहिर ररेका जग्गाधनी र मुद्दा मामिलाका कारण रोक्का गरिएको जग्गाधनीको मात्र मुआब्जा वितरण बाँकी रहेको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री