काठमाडौं। हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी महासंघका प्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला निकायको बैठकले दसैंका लागि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो । महानिर्देशक हमालले व्यवसायीसँगको छलफलका आधारमा दसैंमा यात्रुलाई सहज होस् भनेर ५ असोजबाट टिकट बुुकिङ खुलाउने निर्णय गरिएको जनाए ।
दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । यातायात व्यवसायीले पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका थिए । विभागले चाडपर्वमा भाडा बढाउन नसक्ने जवाफ दिएको थियो । महासचिव सिटौलाले २०६९ सालदेखि भाडा समायोजन गर्न सरकारसँग माग गर्दै आएको र भाडा समायोजन गर्ने विषयमा सरकारले सोच्नुपर्ने बताए ।
व्यवसायीको भाडा समायोजनको माग सरकारले पूरा नगरे पनि उनीहरू टिकट खुलाउन भने सहमत भएका हुन् । यातायात विभागले भने सडक विभागसँग समन्वय गरेर बिग्रिएका सडकको मर्मत गर्न पहल गर्ने जनाएको छ । दसैं मनाउन उपत्यकाबाट १५ देखि २० लाखको हाराहारी मानिस बाहिरिने गरेका छन् ।




