बैंक तथा वित्तीय संस्थासम्बन्धी एने : तोकिएको प्रतिशतभन्दा बढी ऋण लिएको व्यक्ति सञ्चालक बन्न नपाउने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट तोकिएको प्रतिशतभन्दा बढी ऋण लिएको व्यक्ति सञ्चालक बन्न नपाउने व्यवस्था बनाइँदै छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी एने (बाफिया) को संशोधनमा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ । बाफियाजस्ताको त्यस्तै पारित भए तोकिएको प्रतिशतभन्दा बढी ऋण लिएको व्यक्ति बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने छैनन्। उक्त सीमा भने राष्ट्र बैंकले नियमावली वा परिपत्रमा तोक्ने व्यवस्था छ ।

बैंकर र व्यवसायी छुट्याउनका लागि राष्ट्र बैंकले बाफियामा उक्त संशोधन गरी स्वीकृतिका लागि पठाएको हो । उक्त विधेयक बुधबार संसद् सचिवालयमा दर्ता भएको छ । प्रस्तावित विधेयकमा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्थामा ‘इजाजतपत्र प्राप्त संस्थाहरूबाट निज वा निजको परिवारले लिएको कुल व्यवसायीक ऋण सम्बन्धित बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको तोकिएको प्रतिशतभन्दा बढी भएको,’ भन्ने उल्लेख छ । यसको अर्थ एउटै व्यक्तिले बैंक र व्यवसाय चलाउन नपाउने भन्ने हो ।

व्यक्ति बैंकर र व्यवसायी हुँदा स्वार्थ बाझिने भएकाले तीनलाई छुट्याउनुपर्ने चर्चा चल्दै आएको छ । यसअघि हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा व्यवसायी बैंकर हुन नपाउने व्यवस्थाका लागि राष्ट्र बैंकले प्रयास गरे पनि कानुनी मान्यता पाउन सकेको थिएन । अहिले फेरि त्यस्तै व्यवस्था ल्याउन लागिएको हो । अहिले एउटा बैंकको सञ्चालक रहेको व्यक्तिले सोही बैंकबाट ऋण लिन नपाउने भए पनि उसले अर्कोबाट ऋण लिन सक्छ । यही कानुनी कमजोरीको फाइदा उठाउँदै व्यवसायीले आपसी मिलेमतोमा ऋण लिने, दिने गरिरहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री