काठमाण्डौ । सरकारले दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर आउँदो भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रेडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सुपथ पसल सञ्चालन गर्ने निर्णय गरिएको पनि बताए । सुपथ पसल सञ्चालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ ।
विभागले यस वर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था पनि गरेको छ । त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत गर्न लागिएको पनि विभागका महानिर्देशक गौचनले बताए ।
विभागले चाडपर्वका बेला कालाबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दाबी पनि गरेको छ । महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाण्डौ उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको पनि समितिलाई जानकारी दिए ।




