आज हरितालिका तीज, देशभरका शिवालयमा घुइँचो

काठमाडौं । आज भाद्र शुक्ल तृतिया अर्थात, हरितालिका तीज ।  हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गरि तीज मनाउँदैछन् ।

चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो । आज काठमाडौंको पशुपति, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, काभ्रेको साँगालगायत महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको बिहानैदेखि भीड लागेको छ । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतिहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतालु महिलाहरुले अघिल्लो दिनको मध्यरातमै मिठा परिकार बनाएर दर खाएका थिए । पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ । तीज पर्वलाई महिलाहरुको मनको वह पोख्ने अवसरको रुपमा लिने गरिन्छ । पछिल्लो समयमा भने अधिकारकर्मीहरुले महिला अधिकारको लडाईंको रुपमा तीजलाई व्याख्या गरेकाछन् । हरितालिका तीजको पर्सिपल्ट पन्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ ।

यसैबीच पशुपति मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाम गुह्येश्वरी-गौरीघाट-उमाकुण्ड–दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी-भुवनेश्वरी-शंकराचार्य मठ हुँदै फलामेपुल-पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्ण प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषले जनाएको छ ।

यसैगरी तेस्रो लाम एयरपोर्टतर्फबाट-पिंगलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली-गौशालातर्फबाट पिंगलास्थान-वनकाली-चार शिवालय हुँदै पञ्चदेवल पूर्व-बज्रघर-दक्षिण ढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

वैकल्पिकरूपमा २०६५ देखि भक्तजनका लागि बन्द गरिएको पूर्वी ढोका पनि उपयोग गर्न लागिएको कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बताए । तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउनको सोमबार जस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो ।

आज पशुपति मन्दिर प्रवेश गरी बढीमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लामको व्यवस्था गरिनेछ । सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिनेछ ।

नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै शनिबारदेखि सादा पोशाकका प्रहरी खटाइसकिएको छ । मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन् । शान्तिसुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ । पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएकाले बहुमूल्य सामग्री घरमै राखी दर्शनमा आउन अनुरोध गरिएको छ । साना बालबालिकालाई मन्दिरमा नल्याउन पनि अनुरोध गरिएको छ ।

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ । सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ ।

जुत्ता-चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति संगीत प्रस्तुतिका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ । सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ ।

तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ । दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगंगा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिनेछ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सबै महिलालाई तीज पर्वको शुभकामना दिएका छन् । तीजका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

परराष्ट्रमन्त्री आरजुलाई फूलमालाले स्वागत गर्न कांग्रेसको सर्कुलर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको गृह जिल्ला डडेल्धुरा जाने भएकी छन् । काङ्ग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणालाई गृह जिल्लामा भव्य स्वागतको तयारी गरिएको छ । नेपाली काँग्रेस डडेलधुराले देउवाको स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरिसकेको छ ।

प्रतिकृया दिनुहॊस