काठमाडाैँ । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो ।
आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको बताउँछन् । “खुला सिमानाका कारण तराई क्षेत्रबाट लागुऔषध धेरै ओसारपसार हुने गरेको छ”, उनी भन्छन् ।
नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको दर बढेको भन्दै यसलाई न्यूनीकरण गर्न गृह मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।गाँजा, अफिमलगायतका लागुऔषध नेपालको पहाडी र भित्री मधेसमा धेरै उत्पादन हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न प्रहरी मात्र नभएर स्थानीयवासी नै सक्रिय रुपले लाग्नुपर्ने लागुऔषध ब्यूरोका प्रहरी नायब उपरीक्षक थापा बताउँछन् । प्रहरीले हाल लागुऔषध ऐन, २०३३ अनुसार मुद्दा चलाउँदै आएको छ ।
प्रतिकृया दिनुहॊस