काठमाडाेँ । इन्टरनेसनल च्याम्पियन कप अन्तर्गत रियल मड्रिडले एट्लेटिको मड्रिडसँग लज्जास्पद हार बेहाेरेकाे छ ।
न्यू जर्सीस्थित मेटलाइट स्टेडियममा शनिबार बिहान भएको खेलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग ७–३ गोल अन्तरले पराजित भएको हो । जसका कारण प्रशिक्षक जिनेदिन जिदानमाथि चुनौती थपिदिएको छ । एट्लेटिकोले पहिलो हाफमा ५ गोल गरेको थियो । दोस्रो हाफमा २ गोल थप्दा ३ गोल खान पुग्यो ।
एट्लेटिकोका लागि डिएगो कोस्टाले ह्याट्रिकसहित ४ गोल गरे । कोस्टाले खेल सुरु हुनेबितिक्कै हवो फ्लिक्सको पासमा गोल गरेका थिए । आठौं मिनेटमा साउलको पासमा फ्लिक्सले गोल गरे ।
१९औं मिनेटमा एंगल कोरेयाले गोल गर्दै एट्लेटिकाेलाई ३–० को अग्रता दिलाए । २८औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे ।
४५औं मिनेटमा एट्लेटिकोले पेनाल्टी पायो । त्याे पेनाल्टीलाई कोस्टाले गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरे । यस्तै पहिलो हाफमा जावो फिलेक्सले ८ औं र एन्जेल कोरेयाले १९ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा ५ गोलले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा ३ गोल फर्कायो भने अरु २ गोल खान पुग्याे ।
पहिलो हाफमा ह्याट्रिक गरेका कोस्टाले ५१ औं मिनेटमा व्यक्तिगत चौथो तथा टिमका लागि छैटौं गोल गरेका थिए । रियल मड्रिडका लागि नाचोले ५९ औं मिनेटमा एक गोल फर्काए । ७० औं मिनेटमा एट्लेटिकोका लागि भिटोलोले गोल गर्दै फराकिलो जिततर्फ अग्रसर गराए ।
तर मड्रिडका लागि पेनाल्टीमा करिम बेन्जिमाले ८५ औं र जाभिएर हर्नान्डेजले ८९ औं मिनेटमा गोल गर्दै खेलको नतिजा ७–३ मा झारेका थिए ।




