शुक्लाफाँटामा चोरी सिकार शून्य

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ । निकुञ्जका चोरी सिकार हुनसक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन् ।

“गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीन जनालाई समात्न सकेका थियौँ”, निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भने, “क्यामेराको प्रभावकारिताका कारण यस वर्ष चोरी सिकारका मुद्दा शून्यमा झरेका छन् ।”

निकुञ्जमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि क्यामेरामा कैद भएका तस्वीरका आधारमा तत्कालै निकुञ्ज सुरक्षार्थ सुरक्षाकर्मीलाई परिचालन गर्ने व्यवस्थासमेत गरिएको छ । “क्यामेरा जडान हुनुअघि चोरी सिकारमा संलग्नलाई पक्राउ गर्न निकै मुस्किल हुने गरेको थियो”, अधिकृत चौधरीले भने, “चोरी सिकारमा संलग्नलाई पहिचान गर्न गाह्रो थियो, हाल क्यामेरा जडानले चोरी सिकारमा संलग्नको पहिचानसँगै नियन्त्रण गर्नसमेत सहज भएको छ ।”

निकुञ्जबाट हुने काठ तस्करीको कार्यसमेत शून्यमा झरेको उनले बताए । भारतसँग सीमा जोडिएको टारटरगञ्जको भारतीय बङ्गाली बस्ती चुनौतीका रुपमा रहेको निकुञ्जका कर्मचारीको भनाइ छ । केही चोरी सिकारका कार्य त्यस क्षेत्रमा हुने गरेका भए पनि भारतीय वन सुरक्षाकर्मीसँगको समन्वयमा निगरानी बढाउने कार्य हुँदै आएको छ ।

जासुसी क्यामेरा जडानले चालू आवको हालसम्म एउटा पनि चोरी सिकारका मुद्दा परेको छैन । निकुञ्जको सिमाना पूर्वमा स्याली नदी, पश्चिममा महाकाली नदी, उत्तरमा चुरे पर्वत र दक्षिणमा भारतीय क्षेत्र पर्दछ । तीमध्ये पूर्व, पश्चिम र चुरे पर्वत नजिकको क्षेत्र चोरी सिकारका लागि संवेदनशील क्षेत्रका रुपमा रहेका छन् । यी क्षेत्रबाट निकुञ्ज छिर्ने ठाउँमा निगरानी बढाइने गरिएको छ ।

निकुञ्जमा ५३ बढी प्रजातिका स्तनधारी, १२ प्रजातिका घस्रने प्रजाति, २० प्रजातिका उभयचर, २५ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४२४ प्रजातिका चरा पाइने गरेका छन् । निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सभामुख कम्बोडिया गएका बेला संसद्का सचिवले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस