मौद्रिक नीतिप्रति बैंकहरु खुसी देखिएका छन्। नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको बताए। ‘बैंकको संख्या घटाउनेगरी मर्जका लागि जुन कार्यक्रमहरु ल्याइएको छ, त्यो सकारात्मक छ’ उनले भने।
आफूहरुको सुझावअनुसार नै मौद्रिक नीति आएको ढुंगानाले बताए। तरलता व्यवस्थापनका लागि पनि मौद्रिक नीतिले सक्दो प्रयास गरेको उनको भनाई छ। मौद्रिक नीतिले बैंकहरुले विदेशी बैंकहरुबाट मात्रै नभई फन्डहरुबाट पनि ऋण ल्याउन सक्ने व्यवस्था गरेको छ।
त्यस्तै संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीबाट कम्तीमा पनि २ वर्ष अवधि भएको विदेशी मुद्रा मुद्दती निक्षेपका रुपमा संकलन गर्न सक्ने व्यवस्था गरिएको छ। यस्तो निक्षेपको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिनेछ।
त्यस्तै बैंकर अनिलकेशरी शाहले मौद्रिक नीति सन्तुलित भएको दावी गरे। ‘फोर्सफूल्ली मर्ज भनी जुन हल्ला थियो, त्यो नभई प्रोत्साहन गर्नेगरी आयो, एकदमै सकारात्मक छ’ उनले भने।




