विराटनगर । विराटनगर महानगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ । वल्र्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो ।
पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा सुरु गरिएको छ ।
जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि एक सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमबिपिएस सेवा उपभोग गर्न पाउने छन् । सो सेवा पाँच वर्षका लागि लिङ्कले निःशुल्क उपलव्ध गराएको हो । नगरप्रमुख भीम पराजुलीले कञ्चनबारीमा सेवा सञ्चालन शुभारम्भ गर्दै निःशुल्क वाइफाईले युवालाई महानगरपालिकासँग जोड्न खोजेको बताए ।
उनले नगर क्षेत्रमा निःशुल्क वाइफाईसेवा उपलव्ध गराउने नीति र कार्यक्रमअनुसार साउन महीनाभित्रमा ३२ स्थानमा सेवा सञ्चालन गर्ने योजनाअनुरुप बुधबारदेखि कार्य सुरु गरेको जानकारी दिए । प्रमुख पराजुलीले यसपछि आगामी कात्तिक महीनाभित्रमा नगरका प्रमुख चोकमा थप ५० स्थानमा वाइफाई जडान गर्ने योजना रहेको बताए ।
सहयोगी संस्था वर्ल्डलिंकका विराटनगर सहायक प्रबन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको धारणा राखे ।
प्रतिकृया दिनुहॊस