मनसुन थप सक्रिय, बाढी र पहिरोको खतरा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा  आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  त्यसले गर्दा  ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने  भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले निकालेको छुट्टै बुलेटिनमा आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको र ती जिल्ला भइ बहने नदीहरु मेची, विरिङ्ग, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवनको माडीस्थित रिउ खोलालगायत अन्य साना नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

पुनः मनसुन सक्रिय भएकोले आगामी तीन दिन सम्म मौसम आजकै जस्तो हुने मौसमविद् राजु प्रधानाङ्गले बताए । मौसमको न्यून चापिय रेखा नेपालको  दक्षिणतिर अवस्थित रहेको र  बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा  मध्य तथा पश्चिमका केही  स्थानहरुमा वर्षाको सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री