काठमाडौं । भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अब सिधै पेट्रोलियम पदार्थ नेपाल अउन थालेकाे छ । बिहीबार मध्यरातिदेखि नै पेट्रोलियम पदार्थ नेपाल आउन थालेकाे हो ।
नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पहिलोपटक मोतिहारीबाट डिजेल पठाइएको हो । अमलेखगन्जबाट डिजेल पठाउनुअघि परीक्षणका लागि पानी पठाइएको थियो । पानीको सफल परीक्षण भएकाले पाइपलाइनमार्फत डिजेल पठाइएको हो । सो पाइपलाइनको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।
सन् २००४ मा नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल–भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता भएको थियो । सो परियोजना २०७२ भदौमा मात्र अघि बढेको थियो । २०७४ पुसमा भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थालेको थियो । असारमा मात्र पाइपलाइन निर्माण सम्पन्न भएको हो ।
पाइपलाइनको दूरी ६९.२ किलोमिटर छ । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार ३६ लाख लिटर तेल मौज्दात रहन सक्ने गरी पाइपलाइन निर्माण गरिएको हो । पाइपलाइनबाट तत्काल प्रतिघण्टा २ लाख लिटर डिजेल आयात गर्न सकिनेछ । सो तेललाई अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने भएको छ ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार रातिदेखि अमलेखगन्ज पाइपलाइनबाट डिजेल आएकाे बताए पनि निरन्तर रूपमा १५ अगस्टपछि आउने भएको छ । प्रवक्ता गोइतले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत तेल आयात हुन थालेपछि वार्षिक २ अर्ब रुपैयाँ बचत हुने गोइतले बताए ।
उनले पेट्रोलियम पदार्थ आपूर्तिमा ढुवानी भाडा कम लाग्दा उपभोक्तालाई पनि केही राहत हुने बताए । प्रतिघण्टा १ लाख ७० हजार लिटर डिजेल पाइपलाइनबाट ल्याउन सक्ने निगमले जनाएको छ ।
अमलेखगन्जमा डिजेल भण्डारणका लागि निर्माण गर्न लागिएको चार भण्डारण केन्द्र निर्माण कार्य पनि सम्पन भइसकेको निगमले जनाएको छ । सो भण्डारण केन्द्रमा १६ हजार किलोलिटर डिजेज भण्डारण हुनेछ । यसअघि निगमसँग अमलेखगन्जमा १९ हजार ८ सय किलोलिटर तेल भण्डारण गर्न क्षमता थियो ।
निगमले जनाएअनुसार पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्दा निगमलाई प्रतिलिटर १ रुपैयाँ नाफा हुनेछ । पाइपलाइनबाट डिपोमा भण्डारण ढुवानी कटाएर प्रतिलिटर १ रुपैयाँ नाफा हुने भएको हो ।
प्रतिकृया दिनुहॊस