आज यी ठाउँमा छ बाढीकाे सम्भावना ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज मेची, बिरिङ्ग, निन्दालगायत झापा,मोरङ्ग, सुनसरी, इलामबाट बहने साना नदीहरु केहीमा वहाव सतर्कता तहसम्म पुग्न सक्ने जनाएको छ । बाढीमा सतर्कता अपनाउन सो महाशाखाले जारी गरेको बुलेटिनमा सुदूर पश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र १ को पहाडी र चुरेबाट बहने केही ससाना नदीहरुमा समेत आकष्मिक वहाव हुने सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ ।  पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकामा आइतबार रातिको बाढीले ह्युमपाइप बगाएको हो ।

डाइर्भसन बाढीले बगाउँदा पोखरा भित्रिने तथा पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्लामा जाने मालबाहक ट्रकको वारपार ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ठूला क्षमताका गाडी बिहान ५ बजेदेखि सडकमै रोकिएको प्रहरीको भनाइ छ । डिभिजन सडक कार्यालय पोखराले स्टिल पुलको आडमा बेलिब्रिज निर्माणका लागि सामग्री आइपुगेको तथा बेलिब्रिज जडान गर्नका लागि एबुटमेन्ट (पिलर) निर्माण सकिएकाले आजबाट जडानको काम शुरु गर्ने तयारी गरेको थियो । गत फागुन अन्तिम साता पुल जीर्ण भएको पत्ता लागेपछि १० टनभन्दा बढी क्षमताका साधनलाई नदीमा अस्थायीरूपमा ह्युमपाइप हालेर वारपार गराइन्थ्यो ।

कार्यालयका सव–इञ्जिनीयर किरण सुवेदीले सातदेखि १० दिनभित्र बेलिब्रिज जडानको काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याइने बताएको राससले जनाएको छ । उनले भने, “इटहरीबाट बेलिब्रिजका सामग्री आइपुगेको छ, अब जडान शुरु हुन्छ । एक सातादेखि १० दिनभित्र काम सकेर पुल सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

कार्यालयका अनुसार दुई लेनको सो पुल ५० मिटर लामो र भारवहन क्षमता १०० टनको रहने बताइन्छ । बेलिब्रिज निर्माणका लागि सडक कार्यालयले रु दुई करोड २० लाख लागतमा सगरमाथा/जेजे जोइन्ट भेन्चर कम्पनीसँग गएको वैशाख २२ गते सम्झौता गरेको थियो । चर्किएको स्टिलब्रिज मर्मतको काम सकिए पनि सडक विभागबाट निरीक्षणमा आएका विज्ञहरुको प्रतिवेदन नआउँदासम्म ‘हेभी’ सवारीलाई प्रवेश नदिइने सुवेदीले बताए ।

मर्मतपछि यातायात सञ्चालन गर्न सकिने वा नयाँ पुलनै बनाउनुपर्ने भन्नेबारेमा प्रतिवेदन आएपछि निर्णय लिइने कार्यालयले जनाएको छ । बेलिब्रिज अस्थायी पुल भए पनि यसलाई १० वर्ष प्रयोगमा ल्याउन मिल्ने बताइन्छ । विजयपुरको सो पुल हुँदै दैनिक छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने बताइन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस