वीरगञ्ज नाका : कर्जामा कडाइ गरेसँगै सवारीसाधनको आयात घट्यो

काठमाडौँ । वीरगञ्ज नाकाबाट हलुका सवारीसाधनको आयात घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७५-७६ को ११ महीनामा जीप, कार र भ्यानको आयातमा कमी आएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।

सरकारले व्यापारघाटा नियन्त्रणका लागि भन्दै यस्ता सवारीसाधनको कर्जामा कडाइ गरेपछि त्यसको प्रभाव आयातमा देखिएको भन्सारका सूचना अधिकारी मनीष महतोले बताए । ‘गत आव २०७/७५ को जेठसम्ममा ११ हजार ५४ ओटा जीप, कार र भ्यान आयात भएका थिए । तर, यस वर्ष घटेर ८ हजार ५८८ मा झरेको छ,’ महतोले आर्थिक अभियानसित भने, ‘सवारी कर्जामा कडाइको प्रभाव आयातमा पर्‍यो ।’

सरकारले हलुका सवारीसाधनलाई विलासी वस्तुको सूचीमा राखेर ५० प्रतिशतभन्दा बढी कर्जा नदिन बैंकहरूलाई निर्देशन दिएको थियो । गत आवको ११ महीनामा वीरगञ्ज भन्सारले ९ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ मूल्यका यस्ता साधनको आयातबाट १९ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ राजस्व उठाएको थियो । यस वर्ष भने ८ अर्ब ६३ करोड ९१ लाख रुपैयाँको गाडी आयात हुँदा १८ अर्ब ३९ करोड ८ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।

आयात घटे पनि अन्तःशुल्क वृद्धिका कारण हुलुका सवारीसाधन सबैभन्दा बढी राजस्व दिने वस्तुको अग्रस्थानमै रहेको भन्सारले बताएको छ । २०७२ सालको नाकाबन्दीताका भैरहवा भन्सारतिर गएको आयातका कारण पनि वीरगञ्ज नाकाबाट पैठारी घटेको बताइन्छ । त्यसताका वीरगञ्जबाट विस्थापित भएको आयात अझै पूर्ण रूपमा फर्किइनसकेको भन्सारका अधिकारीहरू बताउँछन् ।

मोटरसाइकलको आयात पनि उल्लेख्य परिमाणले घटेको छ । गत आवको ११ महीनामा १० अर्ब ५४ करोड ७६ लाख मूल्यका १ लाख २२ हजार ३३५ ओटा मोटरसाइकल भित्रिएकामा यस वर्षको सोही अवधिमा ९७ हजार ९५६ ओटा आयात भएका छन्, जसको मूल्य ८ अर्ब ३२ करोड २० लाख रुपैयाँ छ ।

ट्रक, मिनीट्रक र पिकअप भ्यानको आयात भने बढेको छ । यो आयात ४ हजार ७१२ ओटाबाट बढेर ६ हजार ७५६ ओटा पुगेको छ । अटो रिक्सा, बस, मिनीबस, माइक्रो बस, मिनीट्रिलर र ट्र्याक्टरको आयात बढेको तथ्यांक छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री