बर्दिवास । महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न यसाे गरिएकाे हाे । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो भूगोल क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सो सङ्ख्याका छात्रालाई सोमबार जनही एक÷एक साइकल वितरण गरेका हुन् ।
लोहारपट्टी नगरपालिकाले आफ्नो नगर क्षेत्रका पाँच सामुदायिक माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत ३०० छात्रालाई साइकल वितरण गरेको छ । शिक्षामा महिलाको पहुँच बढाउन, छोरी शिक्षालाई प्रोत्साहन गर्न कक्षा–१० का छात्रालाई साइकल वितरण गरिएको नगरप्रमुख शैलेन्द्र यादवले बताए । छोरीलाई पढ्न नपठाउने, विद्यालय पुगेका छात्रा पनि उपल्लो तहसम्म नटिक्ने र छोरीको पठनपाठनबारे चासो नदेखिने अवस्था चिर्न कक्षा–१० कै छात्रालाई साइकल वितरण गरिएको प्रमुख यादवको भनाइ छ ।
त्यसैगरी सम्सी गाउँपालिकाले आफ्नो भूगोल क्षेत्रका आधारभूत र माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत सबै छात्रालाई साइकल वितरण गरेको छ ।




