काठमाडौं । कामना सेवा विकास बैंकले ९.५% लाभांश प्रस्ताव पारित गर्न शनिबार (असार १४ गते) साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले चुक्ता पुजीको ८% नगद र १.५% बोनस सेयर गरी कुल ९.५% लाभांश प्रस्ताव अनुमोदन गर्नेछ । कामनाले नगद लाभांशमा २० करोड २ लाख १२ हजार ४४१ रुपैयाँ र बोनस सेयरमा ३ करोड ७५ लाख ३९ हजार ८३२ रुपैयाँ खर्च गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेका छन् । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । कामना र सेवा विकास बैकको मर्जर भई एकीकृत कारोबार हुनुभन्दा अघि (२०७४ साउन १९ गते) सम्म कायम सेयरधनीलाई प्रस्तावित लाभांशमा कर नलाग्ने बैंकले जानकारी दिएको छ ।
तर, मर्जरपछि कायम सेयरधनीको हकमा भने लाभांशमा लाग्ने कर नगद लाभांशबाट काटेर मात्र वितरण हुने बैंकले जानकारी गराएको छ । साधारण सभाका लागि जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गरिएको छ। जेठ ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
हाल यस बैंकको चुक्ता पुजी २ अर्ब ५० करोड २६ लाख ५५ हजार ५१९ रुपैयाँ छ । बोनस वितरणपछि २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५१ रुपैयाँ पुग्नेछ ।
प्रतिकृया दिनुहॊस