काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पप्पु कन्सट्रक्सनले काठमाडौं तीनकुनेको बागमती पुल निर्माणमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ। समितिले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उक्त पुल निर्माणमा पप्पु कन्सट्रक्सनले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको हो। समिति सभापति कल्याणी खड्काको नेतृत्वमा विज्ञसहितको टोलीले अनुगमन गरेको थियो।
समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा ८६ मिटर लामो बागमती पुलका पाइल तोकिएको भन्दा कम लम्बाइका रहेका र केही पाइल भाँचिन लागेका लेखिएको छ। निर्माण पूरा हुने समयको एक वर्ष पूरा भइसक्दा पनि निर्माण नभएको, उक्त पुलको डिजाइन २०७३ मा पास भएको बमोजिम नरहेको पाइएको छ। पुलका पाइल पाइल २९.५ मिटर गहिराइसम्म हुनुपर्नेमा १६.५ मिटरसम्म मात्रै राखिएको प्रतिवेदनमा लेखिएको छ। त्यसमा पनि क्र्याक आएको समितिले पाएको छ।
समितिले पप्पु कन्सट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। त्यसैगरी योजना पूर्वतयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने, काम अगाडि नबढाउने निर्देशन दिँदादिँदै पनि काम अगाडि बढाउने लाई कारबाही गर्नुपर्ने, निरन्तर अनुगमन र निरीक्षण गर्नुपर्ने लगायतका निर्देशन पनि दिइएको छ।
प्रतिकृया दिनुहॊस