काठमाडौं । गुण्डा नाइके राधे (राधाकृष्ण भण्डारी) पक्राउ परेका छन्। बुधबार साँझ उनी धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ बाट पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीलाई देखेपछि उनको समूह प्रहरीमाथि नै जाइलागेको थियो। सो क्रममा दुई प्रहरी घाइते भएका छन्।
उनी तरुण दल धादिङका जिल्ला उपाध्यक्षसमेत हुन्। दुई वर्षअघि राधेको समूहले अन्धाधुन्ध खुँडा प्रहार गर्दा धादिङकै आयुप तामाङ गम्भीर घाइते भएका थिए। राधे प्रहरीको गुण्डाको लिस्टमा भएका व्यक्ति हुन्। उनले धादिङमा हुने ठेक्कापट्टा, अवैध बालुवा खानी लगायतको कमिसन लिने गरेको प्रहरीको भनाइ छ।
अर्का गुण्डा नाइके दिनेश अधिकारी (चरी) समूहले राधेका भाइको हात काटिदिएपछि राधे समूह सक्रिय भएको थियो। त्यही रिसिइबीमा २०७० असार २१ मा धादिङबाट राजधानी फर्किने क्रममा राधेको समूहले ज्यान मार्ने उद्देश्यसहित चरीलाई गोली हानेको थियो। यो घटनामा राधे पक्राउ परेका थिए। तर राजनीतिक दबाबका कारण डेढ लाख धरौटीमा छुटे।




