काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले बुधबार बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि बुधबार बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो। यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नुका साथै गरीबलाई दान दिने गर्दछन्।
काठमाडौंको जामे मस्जिद, पोखरा–१३ स्थित पुरानो इदगाहका साथै चिप्लेढुङ्गा र पृथ्वीचोकमा अवस्थित इदगाह, नेपालगञ्ज तथा विराटनगरलगायत मुस्लिम बाहुल्य रहेका क्षेत्रहरुमा स्थानीय मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरिरहेका छन्।
मुस्लिम धर्मगुरु हनिफ मियाँ भन्छन्, ‘यस पर्वको अवसरमा इद मुवारक शब्दको माध्यमबाट एकअर्कालाई बधाई दिने गरिन्छ। ‘इद’को अर्थ ‘उत्सव’ र ‘मुवारक’को अर्थ ‘धन्य’ भएकाले ‘इद उलफित्र’ पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन्।’ यस्तै, इद पर्वकै अवसरमा सरकारले बुधबार सार्वजनिक विदा समेत दिएको छ ।




