काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विदेशी भूमिबाट प्रधानमन्त्रीले मुलुकका बारेमा नकारात्मक राजनीतिक टिप्पणी गर्नु देशकै अपमान भएको बताएका छन् । धादिङ क्षेत्र नम्बर १ द्वारा आइतबार आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेललले प्रधानमन्त्रीले देशको राजनीतिलाई विदेशी भूमिबाट नकारात्मक ढंगबाट टिप्पणी गर्नु देशकै अपमान भएको टिप्पणी गरेका हुन् ।
“नेपाली राजनीतिलाई तुच्छ ढंगबाट टिप्पणी गर्दैगर्दा उहाँलाई ख्याल हुनुपर्छ, राजनीतिलाई यस्तो बनाउने मुख्य पात्र उहाँ पनि हो । सत्ताका लोभीहरू कहिल्यै इमान्दार हुँदैनन् । कथनी र करनीमा ज्यादै अन्तर भएका केपी ओलीहरूका कारणले नेपाली राजनीतिमा विश्वासको संकट बढ्दो छ,’’ उनले भने ।
भारत भ्रमणका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टी सञ्चालनका बारेमा भएको गोप्य सहमति खुलासा गरेपछि प्रधानमन्त्री ओलीले नेपाली राजनीतिका बारेमा गरेको टिप्पणी प्रति युवा नेता पौडेल आक्रोशित देखिन्थे ।
उनले नयाँ संबिधान लागू भए पनि काम गर्ने तरिका नफेरिएको बताए । मुलुकको नेतृत्व गर्नेहरु सेवक हुनुपर्ने भए पनि शासक बनेका पौडेलको भनाइ थियो । केन्द्र देखि वडासम्म कमिसन र भ्रष्टाचारको बिगबिगी बढेको जिकिर गर्दै उनले सबै तहका सरकारमा हुनेहरूको ब्यबहारले संघीयता बदनाम भएको बताए ।
प्रतिकृया दिनुहॊस