काठमाडौँमा स्मार्ट पार्किङ सेवा परीक्षण : कसरी गर्ने बुकिङ? यस्तो छ शुल्क

काठमाडौँ । महानगरपालिकाले शहरका विभिन्न स्थानमा ‘स्मार्ट पार्किङ’ सेवाको परीक्षण गरिरहेको छ। सवारीसाधनको अव्यवस्थित चापलाई कम गर्ने उद्देश्यले महानगरले पाँच स्थानमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो। महानगरपालिकाले ‘ह्विल्स ट्रुली एयर्स’ सँग सहकार्य गरेर काठमाडौँमा स्मार्ट पार्किङको अवधारणा ल्याएको हो।

हाललाई खिचापोखरी सडक (आरबी कम्प्लेक्सको अगाडि), पाको सडक (ताम्राकार कम्प्लेक्स भएको स्थान),  प्युखा मार्ग (रामेश्वर स्वीट्सको पछाडि), शुक्रपथ (विशाल बजारबाट इन्द्रचोक जाने सडक) र धर्मपथ गरी पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था मिलाइएको छ। हिले ती स्थानमा स्मार्ट पार्किङको परीक्षण भइरहेको छ भने छिट्टै औपचारिक रूपमा सुरुवात गर्ने महानगरको योजना छ।

सेवा प्रयोग गर्न चाहने व्यक्तिहरूले स्मार्ट फोनमा ‘केटीएम पार्क’ नामक एप डाउनलोड गरी आफ्नो साधन पार्किङ गर्ने स्थान बुक गर्न सक्नेछन्। सेवाग्राहीले पहिला ‘केटीएम पार्क’ एपमा गई दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन छनोट गर्नुपर्नेछ। दुई पाङ्ग्रे सवारीसाधन पार्किङ बुक गर्न चाहनेले ‘खिचापोखरी सडक,पाको सडक, प्युखा सडक र शुक्रपथमध्ये आफूलाई पायक पर्ने स्थानमा पार्किङ बुक गर्न सक्नेछन्।

चार पाङ्ग्रे सवारी साधनका लागि धर्मपथमा मात्रै पार्किङको व्यवस्था मिलाइएको छ। सबै स्थानमा गरेर करिब ७०० वटा दुई पाङ्ग्रे सवारी साधन र १०० वटा चार पाङ्ग्रे सवारी पार्क गर्न मिल्नेछ। बुकिङ गर्ने सेवाग्राही १५ मिनेटभित्र आफूले पार्किङ बुक गरेको स्थानमा पुग्नु पर्नेछ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अन्तर्गत रहेर यो कार्यक्रम सुरु गरेको हो। त्यसका लागि ‘ह्विल्स ट्रुली एयर्स’सँग पाँच वर्षका लागि सम्झौता गरेको काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी विभागका निर्देशक ध्रुव काफ्लेले जानकारी दिए।

सेवाग्राहीले सुविधा प्रयोग गरेबापत दुई पाङ्ग्रे सवारीका लागि प्रति घण्टा २५ रुपैयाँ (कर बाहेक) र चार पाङ्ग्रे सवारीका लागि प्रति घण्टा ६० रुपैयाँ (कर बाहेक) लाग्ने काफ्लेले बताए।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री