काठमाडाैँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण बिहीबार सुरु हुँदैछ। इंग्ल्याण्ड र वेल्सका विभिन्न शहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता छ। बेलायतको लण्डनस्थित दि ओभलमा बिहीबार अपराह्न भव्य कार्यक्रमसहित प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ।
विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार अपराह्न ३ः १५ मा सुरु हुनेछ । आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिने छन्। ११ औं संस्करणको विश्वकप सकिँदा दुवै टोलीले एकदिवसीय विश्वकप जित्न सकेका छैनन्।
त्यस्तै विश्वकपको खेल सुरु हुनु भन्दा अघि १० देशका कप्तानले बेलायती महारानी एलिजाबेथलाई भेट गरेका छन्। विश्वकपमा भारत, पाकिस्तान, अफगानिस्तान, अष्ट्रेलिया, श्रीलंका, न्युजिल्याण्ड, इंग्ल्याण्ड, बंगलादेश र वेष्ट इण्डिज र दक्षिण अफ्रिकाको सहभागिता रहेको छ।



