टोकियो । नेपाली जनसम्पर्क समिति जापान कान्तोले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । समितिले नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतको प्रमुख आथित्यतामा नेपालको वर्तमान सन्दर्भ र आर्थिक राजनीतिक भविष्य विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
जनसम्पर्क समिति कान्तोका अध्यक्ष एकेन्द्र थापाका अनुसार कार्यक्रम आउँदो जुन २ तारिख आइतबारका दिन सिनुकोबो टोकियोमा हुने भएको छ । कार्यक्रममा उपस्थितिका लागि जापानस्थित नेपाली संघसस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, पत्रकार, विद्यार्थी र सम्पूर्ण जापानवासी नेपालीमा अनुरोध गरिएको छ ।
विकसित राष्ट्रहरूको अन्तर्राष्ट्रिय मञ्च ‘जी-२०’ को बौद्धिक समूह बैठकलाई सम्बोधनका लागि आउनु भएका सह-महामन्त्री डा. महत जापानमै हुनुहुन्छ । मे २४ देखि २७ सम्म टोकियोमा सञ्चालन भएको शिखर बैठकलाई पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले सम्बोधनका साथै जी(२० लाई आवश्यक सुझाव दिनुभएको थियो ।
बैठकलाई उहाँले नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो । जी-२० समूहले दिगो विकासका लागि विश्वव्यापीरूपमा देखिएका चुनौतीहरूको समाधानका लागि आवश्यक सुझावहरू संकलन गर्न सो बौद्धिक समूहको गठन गरेको हो ।




