काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार गरेको बन्द आह्वानले देशका विभिन्न जिल्ला प्रभावित बनेका छन्। आज बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तुसमेत फेला परेका छन्। करिब २३ वटा जिल्लामा बम तथा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले आज बिहान आगजनी गरेका हुन् । यस्तै महेन्द्रराजमार्गमा गुडिरहेको ट्रकमा बम प्रहार गरेका छन् । आज बिहान दाउन्नेबाट नारायणगढतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा अरुणखोलाको जंगलमा बम प्रहार गरेको प्रहरीले जनाएको छ । बम प्रहारबाट ट्रक जलेर नष्ट भएको र चालक दमौलीका ३३ वर्षीय अमर विक भाग्न सफल भएको बताइएको छ ।
विकको शरीर केहीभाग डढेको अरुणखोला प्रहरी कार्यालयका इन्चार्ज सुन्दर गुरुङले जानकारी दिए । घाइते विकको अरुणखोला स्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । नवलपरासीकै डण्डामा पनि गुडिरहेको जिपमा आगजनीको प्रयास गरिएको छ । आगजनीको प्रयासबाट जिपको त्रिपाल डढेको छ ।
आज चन्द समूहले आव्हान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ ।
रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम, अर्घाखाँचीको सन्धिखर्क आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् । कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् । मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको पूर्वसन्ध्यामा हिजो अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा ४ जनाको मृत्यु भएको थियो ।
काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा विष्फोटक पदार्थहरु पनि फेला परेका थिए । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट गएको नेपाली सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।




