काठमाडाैँ । विलासिता वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ। १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भएको छ।
त्यसमा आयात ११ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ भएको छ। जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो। अघिल्लो वर्षको १० महिनाको तुलनामा २० दशमलव ६ प्रतिशतले व्यापार घाटा बढेको छ। आर्थिक वर्ष ०७४ \०७५ को १० महिनामा व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको थियो ।
विज्ञका अनुसार व्यापार घाटा बढ्नुमा मुख्यतः आयात वृद्धि नै हो । ‘निर्यात बढ्नुपर्थ्यो, उच्च दरले वृद्धि हुन सकेको छैन,’ पूर्वअर्थ सचिव शान्तराज सुवेदीले भने, ‘आयात र निर्यातबीचको ‘ग्याप’ बढी भयो ।’
व्यापार घाटा निरुत्साहित गर्न स्वदेशी वस्तुको उत्पादन गरी आयात घटाउने नीति बनाउनुपर्ने सुवेदीले बताए । ‘विलासिताका वस्तुको आयात बढ्दो छ । त्यसमा कर वृद्धि गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न सकिन्छ,’ उनले भने, ‘त्यसो हुँदा आयात–निर्यातको ग्यापमा कमी हुन सक्छ ।’
१० महिनाको अवधिमा ११ खर्ब ७८ अर्ब १३ करोडको आयात भएको थियो । ७८ अर्ब ५३ करोड रुपैयाँको निर्यात भएको छ । कृषि उत्पादन वृद्धि हुँदा घाटा कम गर्न केही मद्दत हुन सक्ने जानकार बताउँछन् । मुख्य बाली मानिएको धान, मकै, गहुँदेखि तेल अर्बौं रुपैयाँको आयात भएको छ ।
तपाईंको प्रतिकृया




