पाँच आर्थिक वर्षमा पुनर्बीमा : २७ अर्ब ४० करोड बाहिरियो, २४ अर्ब ९७ करोड भित्रियो

काठमाडौं । पछिल्लो ५ आर्थिक वर्षमा पुनर्बीमाको प्रिमियम स्वरूप रू. २७ अर्ब ४० करोड ४४ लाख मुलुकबाट बाहिरिएको छ भने पुनर्बीमा दाबी भुक्तानी मार्फत रू. २४ अर्ब ९७ करोड ४५ लाख भित्रिएको छ ।

भूकम्प, बाढी, महामारी जस्ता विपत्तिमा ठूलो मात्रामा जनधनको क्षति हुने हुँदा बीमा कम्पनीहरूले दाबी भुक्तानी गर्न गाह्रो हुने गर्छ । त्यस्तो अवस्थालाई ध्यानमा राखी कम्पनीहरूले आफ्नो जोखिमको पनि बीमा गर्छन्, जसलाई पुनर्बीमा भनिन्छ । ‘नेपाली बीमा क्षेत्रमा पुनर्बीमाको अभ्यास र यसको प्रभाव’बारे बीमा समितिले गरेको अनुसन्धान प्रतिवेदनले पुनर्बीमा कारोबारको उक्त स्थिति देखाएको हो । समितिले आव २०७०/७१ देखि २०७४/७५ सम्मको पुनर्बीमा सम्बन्धी तथ्यांकका आधारमा अनुसन्धान गरेको थियो ।

यस अवधिमा जीवन बीमा कम्पनीको रू. ३ अर्ब ४५ करोड ७१ लाख र निर्जीवन बीमा कम्पनीको रू. २५ अर्ब ९४ करोड ९८ लाख पुनर्बीमा प्रिमियम निर्धारण गरिएको थियो । त्यसमा कम्पनीहरूले पाउने पुनर्बीमा कमिशन लगायत रकम कट्टा गर्दा उक्त रकम बाहिरिएको हो । सोही अवधिमा जीवन बीमामा रू. १ अर्ब ६९ करोड ७१ लाख र निर्जीवन बीमामा रू. २३ अर्ब १ करोड ६० लाख पुनर्बीमा दाबी भुक्तानी मार्फत भित्रिएको छ ।

निर्जीवन बीमा अन्तर्गत पुनर्बीमाको नाममा बाहिरिने प्रिमियमभन्दा पुनर्बीमा दाबी भुक्तानी मार्फत भित्रिने रकम बढी छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले खुद प्रिमियम बापत रू. १९ अर्ब ६५ करोड २६ लाख विदेशी पुनर्बीमा कम्पनीलाई बुझाएका थिए । तर, सोही अवधिमा विदेशी पुनर्बीमा कम्पनीहरूले दाबी भुक्तानी मार्फत रू. २३ अर्ब १ करोड ६० लाख यहाँका कम्पनीलाई बुझाएका छन्, जुन खुद प्रिमियमभन्दा रू. ३ अर्ब ३६ करोड ३३ लाखले बढी हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री