पेट्रोलियम पदार्थको बिक्रीमा कमिसन बढाउने तयारी

काठमाडौं । केही समय अघिमात्र ग्याँस व्यवसायीहरुको माग अनुसार ११ प्रतिशत कमिसन बढाउने निर्णय गरेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा पनि कमिसन बढाउने तयारी गरेको छ। नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनले बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै कमिसन वृद्धिको माग गरेको छ। निगम पनि कसिमन बढाउनेमा सकारात्मक देखिएको छ।

अहिले पेट्रोलियम पदार्थको कारोबार र बिक्रेताको कमिसन पेट्रोलमा ३ प्रतिशत र डिजेलमा २ दशमलव ६५ प्रतिशत छ। यसलाई बढाएर ४ दशमलव ५ प्रतिशत पुर्याउनुपर्ने उनीहरुको माग छ। व्यवसायीको मागअनुसार कमिसन पुर्याउँदा र पेट्रोलमा ४ रुपैयाँ २१ पैसा र डिजेलमा ३ रुपैयाँ ६३ पाउने गरी तयारी गरेको छ।

हाल उनीहरुले पेट्रोलमा २ रुपैयाँ ७८ पैसा र डिजेलमा २ रुपैयाँ ११ पैसा कमिसन पाउँदै आएका छन्। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पनि पेट्रोलियम व्यवसायीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएका छन्।

निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले लगानी अनुसारको प्रतिफल पाउनुपर्छ भन्ने व्यवसायीको माग रहेको र यस विषयलाई व्यवस्थापन समितिमा छलफल गरेर सञ्चालक समितिमा लैजाने बताए। व्यवसायीहरुले कमिसन वृद्धिको माग गर्दै निगमलाई आजै एक प्रतिवेदन पनि बुझाएको छ।

हाल नेपालमा दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुने गरेको छ। भने १ हजार ५ सय वटा पम्पहरुमार्फत पेट्रोल तथा डिजेल बिक्री वितरण हुँदै आएको छ। जसमध्ये १ हजार ४ सय ८० वटा नीजि क्षेत्रबाट र २० वटा सरकारी तथा सुरक्षा निकायबाट सञ्चालित पम्पहरु रहेका छन्।

नीजि क्षेत्रबाट सञ्चालित पेट्रोप पम्पहरुलाई दैनिक बिक्रीको आधारमा ५ समूहमा विभाजन गरिएको छ। यसरी विभाजन गरिएका पम्पहरुमध्ये कमिसन ४ प्रतिशत पुर्याउँदा क, ख, र ग समूहका पम्पहरुलाई फाईदा हुने भएपनि घ र ङ समूहका पम्पहरुलाई भने घाटा नै रहिरहने व्यवसायीहरूको भनाइ छ।

कमिसन ४ दशमलव ५ प्रतिशत पुर्याउँदा भने सबै समूहका पम्पहरुलाई फाईदा हुने भएका कारण साढे ४ देखि ५ प्रतिशतसम्म कमिशन पुर्‍याउनुपर्ने नेपाल पेट्रोलियम राष्ट्रिय डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको भनाइ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री