काठमाडौँ । युएईसँग भएको श्रम समझदारी खारेज गर्दै नयाँ समझदारी गरिने भएको छ। यसअघि सन् २००७ मा युएई र नेपालबीचमा श्रम समझदारी भएको थियो। त्यसलाई खारेज गर्दै नयाँ श्रम समझदारी गर्न नेपाल र युएईको प्राविधिक टोली सहमत भएको हो। दुई देशको कुटनीतिक तहबाट एक महिना भित्रै समझदारी हस्ताक्षर हुनेछ।
दुई देशको टोलीबीच बुधबार र बिहीबार काठमाडौँमा छलफल भएको थियो। यसअघि युएईमा भएको छलफलमा नेपालले प्रस्ताव गरेका विषयमा आन्तरिक छलफल गर्न आवश्यक रहेको भन्दै युएईले थप समय मागेको थियो।
सहमतीसँगै अब युएई जाने श्रमिकले कुनै पनि शुल्क तिर्नु पर्ने छैन। जाँदा म्यानपावर कम्पनीलाई तिर्ने शुल्क, बिमा, स्वास्थ्य परीक्षण शुल्क लगायत सबै खर्च रोजगारदाताले व्यहोर्नेछन्। व्यक्तिगत लापरबाहीका कारण बाहेक हुने सबै खालका घटनामा बिमाले कभर गर्ने र शव नेपाल ल्याउन समेत बिमाबाटै कभर हुने व्यवस्था सम्झौतामा गर्ने सहमती भएको छ।
युएईसँग यसअघि मलेसियासँग भएको समझदारीभन्दा उपलब्धिमुलक समझदारी हुन लागेको छलफलमा सहभागी श्रम मन्त्रालयका अधिकारीले बताए।
रोजगारीका लागि युएई गएका नेपाली श्रमिकलाई कुनै समस्या परेमा र श्रम अदालत जानु परेमा त्यहाँ लाग्ने सम्पुर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्नेछ। यस्तै दुई साताभित्र समस्या समाधान गर्नु पर्ने शर्त पनि सम्झौतामा राखिएको छ।
यस्तै महिना मरेको १० दिनभित्रमा भुक्तानी गर्नु पर्ने र नगरेको खण्डमा त्यहाँको सरकारले कारबाही गर्नेछ। यस्तै राेजगारदाताहरु पनि कारबाहीमा पर्नेछन्।




