काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट करिब १ सय ५० ग्रामको सुन जस्तो देखिने पहेंलो बाला ३ थान सहित रामेछाप खाँडादेवी गाउँपालिका-४ घर भएका २२ वर्षीय कामेदेव मगरलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
विशष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले जाचँ गर्ने क्रममा उक्त बाला सहित मगरलाई फेला पारी पक्राउ गरेको हो ।
रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ टिम्मुरे घट्टेखोलास्थित रोकी राखेको ना.६ ख ९०६८ नम्बरको स्याउ लोड गरेको कन्टेनर ट्रकबाट प्रत्येक १ किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु ७ थान सहित ट्रक चालक नौकुण्ड गाउँपालिका-१ बस्ने ३० वर्षीय शेर ग्याल्बो घलेलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सीमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्ररही बल भन्सार सुरक्षा गुल्म टिमुरेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त कन्टेनर जाँच गर्दा क्याविनको वाँयातर्फको सिलिङको बत्तीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातु फेला पारी घलेलाई पक्राउ गरेको हो ।




