गणपतिको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ जारी भएको पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको सेयरमा ३ दशमलव शून्य ५ गुणा बढी आवेदन परेको जनाएको छ । सोमबार साँझसम्ममा ४६ हजार जनाले कुल ९ करोड ५७ लाख रुपैयाँबराबरको ९ लाख ५७ हजार कित्ताका लागि आवेदन दिएका छन् ।

लगानीकर्ताले प्रतिकित्ता सय रुपैयाँ दरले आईपीओमा आवेदन दिन पाउने गरी ३ लाख ३५ हजार कित्ता बिक्री खुला गरेको हो । न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार ५ सय कित्तासम्म भर्न पाउने व्यवस्था छ । जारी सेयरमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

जारी पुँजीको ३२ दशमलव ३५ सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको फाइनान्सको २०७५ फागुन मसान्तसम्ममा विभिन्न जिल्लामा २८ वटा शाखा कार्यालयमार्फत १३ हजार ८५८ सदस्यलाई वित्तीय सेवा पु¥याइरहेको छ । यसले फागुन मसान्तसम्म १९ करोड ५८ लाख ९० हजार रुपैयाँ बचत संकलन गरी ७४ करोड ७६ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गणपतिले २०७३ साल २४ मंसिरदेखि वित्तीय कारोबार सुरु गरेको कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यस फाइनान्सको आईपीओमा आगामी १२ वैशाखसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ । तर, यस कम्पनीको आईपीओमा भने पहिलो नै मागभन्दा बढी आवेदन परिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप