काठमाडाैँ । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । पिएसले लिगका पाँच खेल बाँकी हुँदै आठौँ पटक लिगको उपाधि पक्का गरेको हो ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा मोनाकोलाई ३–१ ले हराउँदै पिएसजीले उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा तीनै गोल केलियन एमबाप्पेले गरे । मोनाकोका लागि गोलोविनले एक गोल फर्काए ।
एमबाप्पेले १५, ३८ र ५५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । मोनाकोका लागि गोलोविनले ८० औँ मिनेटमा एक गोल फर्काए । पिएसजीले आइतबार रातिको खेलमा आगलागीले क्षतिग्रस्त भएको ८५० वर्ष पुरानो नोट्र डाम क्याथडर्लप्रति समर्पित गरेको थियो ।
आफ्नो खेलमा जित निकालेको तथा दोस्रो स्थानको लिले टुलुजसँग गोलरहित बराबरीमा रोकिएपछि पिएसजीले पाँच खेल अघि नै उपाधि पक्का गरेको हो ।
यो खेलमा नेइमार पनि मैदानमा थिए । खुट्टाको चोटका कारण चार महिना मैदान बाहिर रहेका नेइमार पहिलो पटक मैदानमा आएका हुन् ।












