रसुवा । धार्मिकस्थल गोसाईंकुण्डमा केबलकार निर्माण गरिने भएको छ । गोसाईंकुण्डसम्म केबलकार निर्माणका लागि तीन ठाउँबाट प्रक्रिया अघि बढेको भए पनि धुन्चे–गोसाईंकुण्ड केबलकार निर्माण हुने निश्चित भएको हो ।
लामो समयदेखि चर्चामा रहेको धुन्चे–गोसाईंकुण्ड केबलकार निर्माणका लागि व्यवहारिक रूप दिन लागिएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताए । जैविक विविधताको संरक्षण गर्दैगर्दा यसको उपयोग र लाभ पनि लिन पर्ने उनको भनाइ थियो ।
रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालन गरिएको सातौँ लाङटाङ संरक्षण तथा पर्यटन उत्सव तथा दशौँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पर्यटनको विस्तारका लागि केबलकार निर्माण आवश्यक देखिएकाले निर्माणमा सहजीकरण गर्ने बताए ।
जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले पठाएको फाइल मन्त्रालयमा पुगेको छ । धुन्चेदेखि गोसाईकुण्डसम्म केबलकारको दूरी साढे ६ किलोमिटर रहने छ । दुई वटा स्टेशन रहनुका साथै २८ वटा टावर राख्ने प्रस्ताव गरिएको छ । ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।
गोसाईंकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाईकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।
प्रतिकृया दिनुहॊस