काठमाडौं । हरेक साता दुई वा सोभन्दा बढी नेपाली फिल्म एकसाथ प्रदर्शन हुँदै आएकोमा यो साता एउटा मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ ।
प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो । प्रदीप र जसिताको जोडीलाई गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’मा दर्शकले रुचाएका थिए । लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरे ‘लभ स्टेशन’ सांगीतिक प्रेमकथामा आधारित पारिवारिक फिल्म भएको बताउँछन् ।
फिल्ममा प्रदीप र जसितामा साथमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ ।
फिल्मलाई काफिया फिल्मसको व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् ।
आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
फिल्मलाई पहिलो दिन राजधानीका मल्टिप्लेक्स हल अन्तर्गत क्यूएफएक्सले १९ शो दिएको छ ।




