काठमाडौँ । हावाहुरीमा परि गम्भीर घाइते भएका बाराका ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनीहरुलाई नेपाली सेनाले उद्धार गरि स्काईट्रकबाट राजधानी ल्याएको सेनाका प्रवक्ता यमप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार उनीहरुलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
राजधानीमा ल्याइएका घाइतेमध्ये एकजना बालिका, एकजना बालकसहित चारजना वयश्क रहेको प्रवक्ता ढकालले जानकारी दिए। घाइते मुवारक अन्सारी, त्रिचन्द्र पट्टेल, गीतादेवी, सुरेश पट्टेल, समिना खातुन र अमन पट्टेललाई राधजानी ल्याइएको हो । उनीहरुको साथमा एकजना कुरुवा समेत आएका छन्।
आइतबार बेलुका अचानक आएको हावाहुरीका कारण बारामा कम्तिमा २६ जनाको मृत्यु भएको छ भने पर्सामा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । ६ सयजना भन्दा बढि घायते भएका छन् । २७० जना सामान्य घाइते उपचारपछि घर फर्किएका छन् ।
ढकालका अनुसार गम्भीर घाइतेलाई उद्धार गरि उपचारका लागि राजधानी ल्याउन फेरि पनि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ उढेको छ।
साथै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट चार जना शल्यचिकित्सकको टोली स्थलगत उपचारका लागि बारा जाँदैछ ।
बाराको फेटा भन्ने स्थानमा नेपाली सेनाको एक चिकित्सकको टोलीले उपचार जारी राखेको छ। गृहमन्त्रालयका आपतकालीन उद्धार केन्द्रका प्रमुख वेदनिधी खनालले भने नेपाली सेनाले ६ जनालाई उद्धार गरेर ल्याएको बताए।




