भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन : सुरुङ निर्माण अन्तिम चरणमा

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । नेपालमै पहिलो पटक प्रयोग गरिएको टनेल बोरिङ मेसिनको सफल परीक्षणपछि निर्धारित समयअगावै सुरुङ निर्माण पुरा हुने भएको हो ।

बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ४८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको भेरी बबई बहूद्देश्यीय डाइभर्सनको सुरुङ निर्माणको काम उत्साहजनक रुपमा अगाडि बढिरहेको छ । चीनीया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडले जिम्मा पाएको आयोजनाको अहिलेसम्म १२ हजार २ सय मिटरमध्ये ९७ प्रतिशत भन्दा बढी सुरुङ खनिसकिएको छ ।

१ वैशाखमै सुरुङको ‘ब्रेक थ्रु’ गर्ने आन्तरिक तयारी भइरहेको आयोजनाका सिनीयर डिभिजन हाइड्रोलोजिस्ट कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको काम १० फेबु्रअरी २०१५ बाट सुरु भएको थियो ।

२८ मार्च २०२० सम्ममा सम्पन्न गर्ने आयोजनाको लक्ष्य भए पनि त्यसको एक वर्षअघि नै सुरुङ निर्माण सकिन लागेको हो । सुरुङ निर्माणकार्यमा करिब ६०० जना नेपाली र ८० जना चिनियाँ कामदार खटिएका छन् ।

भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिने र ११४ मिटर लामो ब्यारेज १४ मिटर अग्लो हुनेछ । नेपालमै पहिलोपटक बहुउद्देश्यीय, एउटा नदीबाट अर्को नदीमा पानीको स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भनिएको हो । गुरुयोजनामा विसं २०८० सालभित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी सञ्चालनमा  ल्याउन सकिने लक्ष्य राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री