काठमाडौँ । सरकारले शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनलाई उच्च प्राथमिकतामा राखेको छ । विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानीको अवसरलाई नजिकबाट चिनाउने प्रमुख उद्देश्यले आयोजना हुन लागेको लगानी सम्मेलनले स्वदेशी र विदेशी लगानीकर्ताबीच ‘सञ्जालीकरण’ गर्ने लक्ष्य लिएको छ । विदेशी लगानीकर्तासँग सिधै डिल गर्न पाउने मञ्च भएकाले सम्मेलनलाई लिएर सरकार निकै उत्साहित देखिन्छ भने निजी क्षेत्र पनि सकारात्मक छ । निजी क्षेत्रका कम्पनी बिजनेस डिलका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् ।
यतिबेला विदेशी पाहुनालाई लक्षित गरेर सडकहरू सफा गर्ने र स्वागतद्वारहरू बनाउने काम तीव्र रूपमा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा लगानी बोर्डले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गर्नेछ ।
सम्मेलनमा ६ सय बढी विदेशी लगानीकर्ता सहभागी हुने
सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सय ५० बढी विदेशी लगानीकर्ता र ३ सय बढी स्वदेशी लगानीकर्ताको सहभागिता हुनेछ । नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सम्मेलनमा सहभागिता रहनेछ ।दुई दिनसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिने उनले बताए ।




