विराटनगर। आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षमा सङ्कलन गरेको अन्तःशुल्कको रकममा आधाभन्दा बढी नेपाल लिकर्स प्रालिको योगदान रहेको छ। नेपाल लिकर्सले चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा अन्तःशुल्क बापत १ अर्ब ९ करोड ४५ लाख रुपैयाँ बुझाएको छ। कार्यालयले अन्तःशुल्क शीर्षकमा साउनदेखि फागुनसम्ममा कुल २ अर्ब ८ करोड ६५ लाख सङ्कलन गरेको छ।
युनाइटेड स्पिरिट्सका नामबाट सञ्चालन गरिरहेको उद्योगलाई राजेश वीरसिंह तुलाधरको समूहले गत वर्षको फागुनमा एकलौटी बनाएर उत्पादन सुरु गरेको थियो। दुई बर्षअघि युनाइटेड स्प्रिट्सको ८२.४६ प्रतिशत शेयर नेपाली साझेदार राजेशवीर सिंह तुलाधारले किनेका थिए।
भारतीय मदिरा कम्पनी युनाइटेड स्प्रिट्स लिमिटेडले आफ्नो साझेदारीमा स्थापना भएको यो कम्पनी ३४ करोड १४ लाख २४ हजार रुपैयाँमा तुलाधारले किनेका हुन्।यो कम्पनीको नेपाली साझेदारको रुपमा तुलाधारसँग ११.५४ प्रतिशत शेयर थियो। दुई वर्षअघि युनाइटेड स्प्रिट्स् लिमिटेडले बम्बई स्टक एक्सचेञ्ज (बिएसई) मा फाइलिङ गरेको सूचनाअनुसार सिंहले युनाइटेड स्प्रिट्स नेपालको प्रति कित्ता पाँच हजार ४२ रुपैयाँमा शेयर किन्न लागेको उल्लेख थियो।
आठ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको युनाइटेड स्प्रिट्स नेपालले गत आर्थिक वर्षमा ६४ करोड ८० लाख भारु (एक अर्व तीन करोड नेपाली रुपैयाँ) को कारोवार गरेको थियो। यो कम्पनीको नेटवर्थ साढे सात करोड रुपैयाँ छ। नेपालका मदिरा कम्पनीमा यो टप थ्री कम्पनीमध्ये एक हो। कम्पनीले पूरानै ब्राण्डमा मदिराको उत्पादन सुरु गरेको हो।
उद्योगको स्थापना राजेशका स्वर्गीय पिता भक्तवीरसिंह तुलाधर र भारतका उद्योगपति विजय माल्याको संयुक्त साझेदारीमा भएको थियो। नेपाल लिकर्सले पुरानै उत्पादन सिग्नेचर रेड, सिग्नेचर प्रिमियर, म्याकड्वेल नम्बर वान, एन्टिक्विटी ह्विस्की र गोल्डेन ग्रेप ब्रान्डी लगायतलाई निरन्तरता दिएको छ।
उद्योगले गत आर्थिक वर्ष २०७४/०७५ को फागुन मसान्तसम्ममा अन्तःशुल्क बापत ६३ करोड ८२ लाख रुपैयाँ बुझाएको थियो। कार्यालयले गत आवको फागुन मसान्तसम्ममा अन्तःशुल्क बापत कुल १ अर्ब ३१ करोड २९ लाख रुपैयाँ सङ्कलन गरेको थियो।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७३/७४ को फागुन मसान्त सम्ममा उद्योगले ८० करोड अन्तःशुल्क बुझाएको थियो। यो अवधिमा कार्यालयले अन्तःशुल्कबापत १ अर्ब ३४ करोड ७२ लाख सङ्कलन गरेको थियो।




